04 October 2009

कविता

"एम्बुसमा माया"


प्रगति राई (भोजपुर हाल काठमान्डौ! )


उसको अनुहार ठ्याक्कै मिलेन
रगत मिलेन र विचार मिलेन
मात्रै मिल्यो प्रेम गर्ने बानी
जो,शिलापत्र जत्तिकै अ मिट छ
जो,एम्बुस जत्तिकै खतर्नाक पनि छ - मेरो लागि

दिमागले निर्णय गर्न नसकेपछि
प्रेम र कर्तव्यलाई तर्कको तराजुमा राखेर हेरें

प्रेमले भन्छ-
"किन्न नसकिने खुशी
अनुदान पाएको हस्ताक्षर छ - त्यहाँ
सयौं दु:ख भुलेर, पसिनाले आर्जेको
मायाको बस्ती छ - त्यहाँ
त्यो बस्तीमा,
बढ्दो उत्साहका घरहरू छन्
फक्रँदो रहरका कोपिलाहरू छ्न्
र,गुमाउनै नमिल्ने सपनाहरू गर्भिनी छ्न्
प्रेम हावाजस्तो भावना रहेन अब
इतिहास,थालनी र अन्त्य सहितको
मान्छेजस्तै एक विशेष जाति भैसक्यो
अब, प्रेमको संघीयता देऊ"

प्रेमले स्तालिनको तर्क लिएर
मलाई नालिस हाल्छ ।

कर्तव्यले भन्छ-
"म यहाँसम्म आइपुग्नुका बाटाहरू
तह-तहका अपमानले यस्तरी थिचिएको छ कि-
मैजस्ता मान्छेहरूले मेरो रगतलाई फिका बनाएको छ
मैजस्ता मान्छेहरूले मेरो इतिहासलाई कुल्चेर रखेको छ
तिनकै बगैँचामा मेरो प्रेम फूलेछ
जहाँ म एम्बुस पड्काउन चाहान्थें ।


हामीजस्तै मान्छेहरूले किन मायाको महत्व बुझेनन्?
हामीजस्तै मान्छेहरूले किन रगतको सम्बन्ध बुझेनन्
मान्छेहरूबिच जातीय असमान्ताको यति गहिरो खाल्डो खनेर
एघारौँ शताव्दीदेखि
त्यो- शंकराचार्यले
त्यो- जयस्थिति मल्लले
या, मैथिली ब्राम्हणहरूले
मेरो एतिहास जलाएर
मेरो आस्थाको पीठ भत्काएर
अहिलेसम्म मलाई टेकिरहेछ
म बुझ्दछु ,
मेरो युद्दमैदानमा फक्रेको फूल हो - माया
सयौं जातीय संकिर्णतालाई बारूदमा भुटेर
मायालाई बचाउनु छ
सायद, म जन्मनुको अर्थ पनि यहिनेर छ"

आज, मैले यति बुझें-
माया मान्छेको अस्तित्व हो
माया मान्छेको कमजोरी पनि

लाग्छ-
जातीय युद्द जितेको दिन
विजयको गर्विलो छाति उपहार लिएर
मजस्तै सयौं मान्छे
प्रेमीसामु आइपुग्नेछन्

माया!
त्यतिञ्जेल
प्रेमको यो बस्ति सम्हाली राख्न्नू
(भोजपुर हाल काठमान्डौ! )

No comments:

Post a Comment